काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै पदाधिकारी र केन्द्रीय सदस्य चयनको रस्साकस्सी सुरु भएको छ।
आगामी मंसिर २४ गतेदेखि काठमाडौंमा हुन गइरहेको १४ औं महाधिवेशनका लागि उम्मेदवार छान्न कांग्रेसमा गुटगत बैठक बसिरहेका छन्।
सभापतिसहित पदाधिकारी चयनका लागि प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले निजी निवास बूढानीलकण्ठमा बुधबार आफूपक्षीय नेताहरुसँग छलफल गरिरहेका छन्।
त्यस्तै बानेश्वरस्थित अनुपम फुड ल्याण्डमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको भेला जारी रहेको छ। सभापतिका आकांक्षी पौडेलले संस्थापनइतबाट साझा उम्मेदवार टुंगो लगाउन नसकेको अवस्थामा भेला बोलाएका हुन्।
संस्थापनइतरमा सभापतिका लागि पौडेलसहित प्रकाशमान सिंह, शेखर कोइराला आकांक्षी रहेका छन्। महामन्त्री शशांक कोइरालाले पनि सभापतिमा आकांक्षा राखिरहेकोमा मंगलबारको बैठकपछि पौडेलको आग्रहमा पछि हटेको जनाएका छन्।
देउवासँग साझा उम्मेदवारी दिएमात्र प्रतिस्पर्धा गर्न सकिने आकलन पछि पछिल्ला दिनहरुमा संस्थापनइतरले छलफलमा तिब्रता दिएको हो।
मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा संस्थापनइतरका नेताहरु लामो समय बैठकमा बसेको भएपनि निष्कर्ष भने निस्कन सकेन। छलफलमा शंशाक र रामचन्द्र लचिलो भएपनि शेखर कोइराला र प्रकाशमान सिंहले दाबी नछाड्दा सहमति जुट्न नसकेको जनाइएको छ।
सहमति नजुटेपछि नेताहरु आजका लागि पुन: छलफलमा बसेर साझा उम्मेदवार तय गर्ने भन्दै उठेका थिए।
आफू निकटका नेता कार्यकर्ताको रायपछि मात्र उम्मेदवार टुङ्गाउने भन्दै उनीहरु बानेश्वरमा छलफलमा रहेका छन्। यसरी दुई प्रमुख गुट छलफलमा रहेको अवस्थामा कांग्रेको तेस्रो धार दाबी गर्ने नेता कृष्णप्रसाद सिटौलापनि गुटगत छलफलमा जुटेका छन्।
सिटौला पक्ष यतिबेला चण्डोलस्थित आफ्नै निवासमा अलग्गै छलफलमा बसेका हुन्। सिटौलाले सभापतिमा दाबी गर्ने/ नगर्नेबारे छलफल गरिरहेका हुन्। सभापतिमै दाबी नगरेपनि अन्य कुन कुन पदमा दाबी गर्ने र कुन पक्षसँग मिलेर जाने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ। उनीहरुले महामन्त्री र अन्य पद संस्थापन शेरबहादुर देउवासँग मिलेर लिने कि संस्थापनइतर पौडेल पक्षसँग मिलेर दाबी गर्ने भन्नेबारे छलफल गर्ने देखिएको छ।
कांग्रेसभित्र कमजोररुपमा रहेको सिटौलापक्षले आफूलाई जुन गुटमा जादाँ धेरै फाइदा हुन्छ त्यही अनुसारको रणनीति बनाउने तयारी गरेको देखिएको छ।
अघिल्लो पटक सभापतिमा पराजित भएका उनी यस पटक सभापतिको उम्मेदवार हुने सम्भावना कम रहेको देखिएको छ त्यस्तै यसअघि देउवा गुटमै रहेका उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा सिटौला पक्षको निर्णयले देउवालाई भावी रणनीति तय गर्न सहयोग पुग्ने देखिन्छ।
सिटौला आफूतिर नआएर संस्थापनइतर गुट तिर गए उनीहरु बलियो हुने आकलन गरेका देउवाले उनलाई आफूतिर तान्न प्रयत्न गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।