काठमाडौं– पोर्चुगिज क्लब एफसी पोर्टाेलाई पराजित गर्दै स्पेनिस क्लब एट्लेटिको मड्रिड यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ।
१० खेलाडीमा समेटिएको एट्लेटिकोले ९ खेलाडीमा समेटिएको घरेलु टोली पोर्टाेलाई ३–१ ले परापित गर्दै समूह ‘बी’ बाट उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।
एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन, एन्जल कोरेआ र रोड्रिगो डि पउलले गोल गरे। पोर्टाेका सर्जियो ओलिभेइराले एक गोल फर्काए।
पोर्टाेमा मंगलबार राति सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५६औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए। उनले थोमस लेमारको पासमा गोल गरेका थिए। ६७औं मिनेटमा यान्निक कारास्को रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा समेटियो।
खेलको ७०औं मिनेटमा वेन्डेल र ७५औं मिनेटमा अगस्टिन मर्चेसिन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली दवावमा परेका थियो।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ग्रिजमनको पासमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि रोड्रिगो डि पउलले गोल गर्दै एट्लेटिकोको जित पक्का गरे। इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा सर्जियो ओलिभेइराले गोल गरेपनि घरेलु टोलीको हार टरेन।
यो जितसँगै एट्लेटिको समूहमा ६ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रह्यो। पराजित पोर्टाे तेस्रो स्थानमा रहँदा एसी मिलान ४ अंक जोडेर पुछारमा रह्यो। लिभरपुल शतप्रतिशत जितसहित १८ अंक जोडेर शीर्षस्थानमा रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।