एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्लब ब्रुगलाई ४–१ ले पराजित गरेको छ। पीएसजीको जितमा लिओनेल मेस्सी र किलियन एम्बाप्पेले २–२ गोल गरे।
पिएसजीले एमबाप्पेको गोलमा खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो। त्यसको ५ मिनेटपछि नै एमबाप्पेले ने गोल गर्दै घरेलु टोली पिएसजीको अग्रता दोब्बर पारे। एन्जल डि मारियाको पासमा उनले भलीमार्फत गोल गरेका थिए।
खेलको ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीलाई ३–० को अग्रता दिलाए। दोस्रो हाफको ६७ औं मिनेटमा पाहुना टोलीका लागि माट्स रिट्सले गोल फर्काए। तर ७६ औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि दिइएको पेनाल्टीलाई उनी आफैंले गोलमा परिणत गरे।
जितसँगै पिएसजी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ। पिएसजीले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो रहयो। क्लब ब्रुगा भने ६ खेलमा ४ अंकसहित पुछारमा रहयो। यो समूहबाट म्यानचेस्टर सिटी शीर्षस्थानमा रहँदै नकआउट चरण पुग्दा आरबी लाइप्जिग तेस्रो हुँदै युरोपा लिगमा पुग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।