काठमाडौं- सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आ-आफ्नो उमेर समूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। यू-१६ को ब्वाइजमा सुदीप र गर्ल्समा सुष्मा तथा यू-२० को ब्वाइजमा युवराज र गर्ल्समा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। सुमुया बंगलादेशकी हुन् भने बाँकी सबै नेपाली खेलाडी हुन्।
त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा भएको यू-२० उमेरसमूहअन्तर्गत १०० मिटर दौडको ब्वाइजमा जाजरकोटका युवराज विक (११.०० सेकेन्ड) र गर्ल्समा बंगलादेशकी सुमुया देवान (११.८५ सेकेन्ड), ४०० मिटर दौडको ब्वाइजमा बंगलादेशका जेल्डासर्जिल रसिम खान (५१.६ सेकेन्ड) र गर्ल्समा बंगलादेशकी रुना नस्रत जाहान (१ मिनेट ४ सेकेन्ड), ८०० मिटर दौडको ब्वाइजमा कञ्चनपुरका सन्जिव नेपाली (२० मिनेट ०३.९ सेकेन्ड) र गर्ल्समा जुम्लाकी राममाया बुढा (२ मिनेट २६.३६ सेकेन्ड) पहिलो भए।
एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यू-२० हाइजम्पको ब्वाइजमा मोरङका सागर यादव (१.६६ मिटर) र गर्ल्समा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको ब्वाइजमा चितवनका ललित राउन (१०.७० मिटर) र गर्ल्समा दाङकी सुशिला चौधरी (९.६२ मिटर) ले स्वर्ण जिते।
यु-१६ १०० मिटर दौडको ब्वाइजमा वीरगन्जका आदेशकुमार यादव (११.२४ सेकेन्ड) र गर्ल्समा भक्तपुरकी स्वागता खैजु तथा ८०० मिटर दौडको ब्वाइजमा बागलुङका बादल कार्की (२ मिनेट ०७.८४ सेकेन्ड) र गर्ल्समा कालिकोटकी भावनाले शीर्ष स्थान हात पारे।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।