काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनका लागि संस्थापन इतर पक्षबाट सहमतिमै 'साझा' उम्मेदवार अगाडि सारिने बताएका छन्। भोलि (बुधबार) बिहानसम्म साझा उम्मेदवार तय भइसक्ने पौडेलको भनाइ छ।
'नेपाली कांग्रेसको रुपान्तरण चाहने विचार समूहका साथीहरुले आज निकै छलफल गर्यौं। हामी सहमतिको निकै नजिक पुगेका छौं। हाम्रो निर्णय भोलिसम्ममा केही प्रक्रिया पुरा गरेर बाहिर आउँछ,' मंगलबार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै पौडेलले भने।
केही प्रक्रिया पूरा गर्न बाँकी रहेको र त्यो प्रक्रिया पूरा गरेर बुधबार निर्णय सार्वजनिक गरिने पौडेलको भनाइ छ।
'हामीले सबै दृष्टिकोणबाट छलफल गर्यौं। अबको यो चुनौतीको सामना हामी कसरी गर्छौं, महाधिवेशनमा हामी कसरी पार्टी जोगाउन सफल हुन्छौं, सबै पक्षमा छलफल गरेर हामी एउटा निष्कर्शको नजिक नजिक पुगेका छौं,' पौडेलले भने, 'केही प्रक्रिया पूरा गर्न बाँकी छ। त्यो प्रक्रिया पूरा गरेर हामी भोलि हाम्रो निर्णय सार्वजनिक गर्छौं। भोलिसम्म साझा उम्मेदवार तय हुन्छ, हामी तय गर्छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।