काठमाडौं- नेपाल धितोपत्र बोर्डबाट बर्खास्त भएका भीष्मराज ढुंगानाको पक्षमा आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
सर्वोच्चले ढुंगानालाई किन बर्खास्त गरेको भन्दै नेपाल सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उनलाई बर्खास्त गर्नुको कारण माग गर्दै नेपाल सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
साथै, रिट निवेदक ढुंगानाको मागबमोजिम अन्तरिम आदेश जारी नहुने आदेश पनि इजलासले गरेको छ। बोर्डको अध्यक्षमा पुनर्बहालीको माग गर्दै ढुंगानाले कात्तिक ७ गते दायर गरेको मुद्दामा सर्वोच्चले यस्तो आदेश दिएको हो।
सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो। उनले छोरी रेविका ढुंगाना धितालको नाममा सर्वोत्तम सिमेन्टको 'गोल्डेन सेयर' खरिद गरेको आरोप लागेको थियो। नियामक निकायको नेतृत्वमा रहेका उनीमाथि उक्त सेयर खरिद गरेर सेयर बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गर्न सहयोग गरेको आरोप छ। सोही आरोपमा मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बोर्डको अध्यक्षबाट हटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।