फाइल तस्बिर काठमाडौं- नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा पराजित उम्मेदवार गुरुराज घिमिरेले निर्वाचनका क्रममा सत्ताको दुरुपयोग गरिएको बताएका छन्।
मङ्गलबार प्रकाशमान सिंहनिवास चाक्सीबारीमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, 'पार्टीभित्रको निर्वाचनमा हुने जित-हारलाई हामीले सहजरुपमा स्वीकार्ने गरेका छौं। म पनि राजनीतिमा खेल भावनाअनुसार चल्नुपर्छ भन्ने भावना राख्छु। तर, प्रदेश १ को परिदृश्य फरक देखिएको छ। मूल्य स्खलनको चरम दृष्टान्त हो। पार्टीको आदर्श र मूल्य मान्यतालाई लगभग कुल्चिएर र अपहेलित गरेर प्रदेश १ को निर्वाचन सम्पन्न भयो। सत्ताको चरम दुरुपयोग गरियो।'
घिमिरेले मतहरु लुटिएको बताए। 'विराटनगरको सबैभन्दा महँगो होटलमा बसेर मतपत्र लुटियो। त्यो चित्र त्रासदीपूर्ण छ। मेरो आँखा अगाडि मतहरु लुटिएका छन्,' उनले भने।
उनले ५२ जनाले मतदान नगरेको भन्दै त्यो उनीहरुको सार्वभौम अधिकार भएको बताए। 'त्यसको जवाफ मैले दिन सक्दिनँ। तर उहाँहरु नियत राखेर मत दिन नआउनुभएको होइन। गलत परामर्श दिइएकाले भ्रममा परेर नआउनुभएको हो,' घिमेरेले भने।
पार्टीमा विवेक हराएको उनको भनाइ छ। आफूले प्रदेश १ को सभापतिमा आकांक्षा राखेपछि सहमतिको सभापति बन्ने आशा राखेको भए पनि पार्टीको नेतृत्व तहमा छलफल नभएको उनको गुनासो थियो। 'तर गठबन्धन बनाएर मेरो विरुद्धमा उम्मेदवार बनाउने काम भयो,' उनले भने।
पार्टीभित्रको जित र हारलाई खेलाडी भावनाले स्वीकार गर्ने भए पनि पुनः मतगणनाको माग सम्बोधन हुनुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।