काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर (पौडेल) पक्षका नेताहरुले बैठक लम्ब्याएर भएपनि आगामी महाधिवेशनमा पार्टी सभापतिको साझा उम्मेदवार अगाडि बढाउनेबारे निर्णय गर्ने भएका छन्।
सभापतिसहित अन्य पदमा पनि इतर समूहबाट साझा उम्मेदवार तय गर्न नेता प्रकाशमान सिंहको निवासमा बैठक जारी छ। बैठकबाट बाहिरिने क्रममा नेता गगन थापाले 'जसरी पनि' साझा उम्मेदवार बनाउन सुझाव र दबाब आएको बताए।
थापाले भने, 'जसरी पनि तपाईंहरु मिल्नुस भनेका छौं। ४ जना मात्रै पनि बस्नुस् भन्ने सुझाव आएको छ। बैठक लम्ब्याएर भएपनि आजै टुंग्याउने प्रयास छ।'
नेता सिंहको निवासमा जारी बैठकमा १४औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शेखर कोइराला, नेता सिंह र शेखर कोइरालासहित नेताहरु सहभागी छन्।
यसअघि सोमबार वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा सभापतिका ४ आकांक्षीबीच छलफल भएको थियो।
सोमबारको बैठकमा साझा उम्मेदवार तय गर्नका लागि छलफल जारी राख्ने सहमति भएको थियो। सोमबारको सहमतिअनुसार इतर समूहका नेताहरु मंगलबार पनि छलफलमा जुटेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।