काठमाडौं- नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनमा पार्टीको १० हजार र चुनाव चिह्न रुख अंकित झण्डा सडकको फहराउने भएको छ।
कांग्रेसको काठमाडौं जिल्ला समितिले मात्रै करिब १० हजार झण्डा सडकका पोलमा राख्ने भएको हो। उक्त कार्यको मंगलबार सुरुआत गरिएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा लगाउने अभियानको प्रारम्भ गरेका छन्।
प्रचारको विविध प्रक्रियाअनुसार आज सडकका पोलहरुमा झण्डा लगाउने तथा विभिन्न स्थानमा स्वागत गेट बनाउने कार्य प्रारम्भ गरेको उनले जानकारी दिए।
महाधिवेशनका लागि स्वागतद्वार तथा श्रङ्गारको जिम्मेवारी पाएका कांग्रेस काठमाडौंका सचिव गोविन्द पुडासैनी संयोजकत्वको उपसमितिले कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगञ्ज, बल्खु, बालाजु क्षेत्रमा ठूला १४ स्वागतद्वार बनाउन सुरु गरेको छ।
यसबाहेक महाधिवेशनस्थल भृकुटीमण्डप वरपर झण्डै १० स्वागतद्वार बनाइने सचिव पुडासैनीले बताए। कांग्रेसले उत्साह, एकता र रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन भन्ने प्रचारात्मक नारा पनि तय गरेको छ। कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।