काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आगामी राष्ट्रिय सम्मेलनमा पेस हुने राजनीतिक प्रतिवेदन लेख्न थालेका छन्। प्रतिवेदन लेखनमा केन्द्रित प्रचण्डले पछिल्लो समय राजनीतिक भेटघाट घटाएका छन्।
आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने सम्मेलनमा पेस हुने राजनीतिक दस्तावेज लेख्न प्रचण्डले सोमबारदेखि सक्रियता बढाएका उनको सचिवालयले जनाएको छ।
‘प्रतिवेदन लेख्न खास हिजो(सोमबार)देखि अध्यक्ष कमरेड लाग्नु भएको छ। त्यसैले भेटघाट कम गरेका छौं।’ प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘प्रतिवेदन लेख्न राष्ट्रिय, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका पुस्तकहरु तयार गर्नु भएको छ। यसअघि पेस भएका दस्तावेजको अध्ययन गर्दै हुनुहुन्छ। सबै अध्ययन गरेपछि पार्टीलाई जीवन्त बनाउने गरी वैचारिक, राजनीतिक संगठनिक सबै विषयलाई समेट्ने गरी प्रतिवेदन आउने छ।’
प्रचण्डले पार्टीको अध्यक्षका रुपमा आफ्नो समेत समीक्षा गरेर प्रतिवेदन तयार पार्न लागेका जनाइएको छ। पार्टीलाई आफ्नै संगठनको जगमा टेकाउने गरी प्रतिवेदन ल्याउन लागिएको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए।
‘हामीभन्दा कांग्रेस, एमाले धेरै बिग्रेका छन्। उनीहरुभन्दा हामी राजनीतिक, सांगठनिक, वैचारिक र सांस्कृतिक रुपमा कसरी फरक हुने भन्ने प्रश्न छ?’ गजुरेलले भने, ‘ती सबै विषयहरुलाई चिर्नेगरी अध्यक्षले राजनीतिक प्रवेदन ल्याउनुहुन्छ भन्ने छ। अध्यक्षको प्रतिवेदन कस्तो आउँछ भनेर हामी पनि प्रतिक्षामै छौं।'
राष्ट्रिय सम्मेलनमा पेस हुने प्रचण्डको प्रतिवेदनले नै अब माओवादी केन्द्र कस्तो हुने भन्ने निर्क्यौल गर्ने गजुरेलले बताए।
प्रचण्डले मंसिर २३ गतेसम्म राजनीतिक प्रतिवेदनको खाका तयार गरेर स्थायी समिति बैठकमा ब्रिफिङ गर्ने तयारी गरेका छन्। ‘सोमबारदेखि मात्रै अध्यक्ष कमरेड प्रतिवेदन लेख्न बस्नु भएको छ। सबै प्रतिवेदन २३ गतेको स्थायी समितिसम्म सकिदैन होला’ प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘सबै राजनीतिक प्रतिवेदन लेख्न नसकिए पनि मोटामोटी विषय स्थायी समितिमा पेस गर्ने भनिएको छ। त्यहाँ उठेका विषयलाई समेत प्रतिवेदनमा समेट्ने कुरा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।