काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सभापतिमा एकल उम्मेदवार तय गर्न थप दबाब सिर्जना गरिने भएको छ।
पौडेल निकटका युवा नेता, हालै विजयी जिल्ला सभापति, पूर्व सभापति सम्मिलित बैठकले एकल उम्मेदवार छिटो तय गर्न दबाब सिर्जना गर्ने निर्णय गरेको छ। पौडेल पक्षीय केन्द्रीय सदस्यको आजको बैठकले नै उम्मेदवार तय गर्ने गरी दबाब दिने निर्णय भएको एक नेताले बताए।
‘जिल्लाका पूर्व सभापति, वर्तमान सभापति, प्रदेशका हाम्रो पक्षका नेताहरुको बैठक बस्यौं,’ पौडेल पक्षीय केन्द्रीय सदस्य बद्री पाण्डेले भने, ‘नेताहरुलाई दबाब दिने, बाँकी टीम बनाउन तथा क्लष्टर अनुसारको उम्मेदवार तय गर्न नाम दिने छलफल भएको छ।’ आज पनि नामलाई अन्तिम टुंगो लागेन भने ढिलो हुने भएकाले दबाब सिर्जना गर्ने पाण्डेले बताए।
पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक दिउँसो १ बजे बस्ने भएको छ। सभापतिको उम्मेदवारको घोषणा गरेका चार मध्ये एक जनाको नाममा सहमति खोज्न बैठक बोलाइएको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बस्नेछ।
सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइरालाले दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।