काठमाडौं– नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन (आगामी पुस ११–१३ गते)मा सहभागी हुने प्रतिनिधिले खाने तथा बस्ने व्यवस्था आफैंले गर्नुपर्ने भएको छ। 
सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिका लागि माओवादीले प्रतिव्यक्ति २ हजार रुपैयाँ शुल्क समेत तोकेको छ। 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को हस्ताक्षरमा सबै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज/अध्यक्ष र सचिवलाई जारी परिपत्रमा केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने लेबी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिहरुको नामावली मंसिर २९ गतेसम्म अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ। 
सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको सम्पूर्ण व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशको हुनेपनि परिपत्रमा उल्लेख छ। 
परिपत्रमा प्रत्येक प्रदेशबाट कम्तीमा ३० जनाका दरले राष्ट्रिय सम्मेलनका प्रतिनिधि छनौट गरिने र बाँकी  प्रति १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय भएको जनाइएको छ।   
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।