काठमाडौं– साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाली टोलीले उपाधि जित्ने लक्ष्य बनाएको छ।
नेपाली टिमका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले टोलीको लक्ष्य उपाधि रहेको बताए। साफ यू–१९ महिला च्याम्पियनसिप ११ डिसेम्बरदेखि २२ सम्म बंगलादेशको ढाकामा आयोजना हुनेछ।
प्रतियोगितामा आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले भाग लिनेछन्।
‘टोलीमा हरेक पोजिसनका खेलाडी उत्कृष्ट छन्। यसपटक पहिलो भएर आउने लक्ष्य छ,’ उनले भने।
यता, नेपाली टोलीका कप्तान तथा गोलकिपर अन्जना रानामगरले पनि टोलीको लक्ष्य च्याम्पियन बन्ने रहेको भन्दै मुख्य लक्ष्य भारत र बंगलादेशलाई जित्नु रहेको बताइन्।
‘टिमको तयारी छ। राम्रो प्रशिक्षकहरु पाएका छौं। त्यसैले लक्ष्य च्याम्पियन हुने नै छ,’ अन्जनाले भनिन्,‘हाम्रो मुख्य लक्ष्य भारत र बंगलादेशलाई जित्नु हो।’
नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार ढाका जाने टोलीलाई बिदाइ गरेको छ।
च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन्। जसमा ६ जना राष्ट्रिय टोलीमा खेलाडी समेटिएका छन्।
राउन्ड रोविनका आधारमा हुने प्रतियोगिता नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध ११ डिसेम्बरमा खेल्नेछ।
दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ डिसेम्बरमा खेल्नेछ। चौथो खेल नेपालले भारतविरुद्ध १९ डिसेम्बरमा खेल्ने छ।
अंक तालिकाका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। फाइनल २२ डिसेम्बरमा हुनेछ।
नेपाली टोली :
अन्जना रानामगर, सावित्री किशन, अंकिता राई, सलोनी रानामगर, सबिना चौधरी, मन्जुकुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला बिक, रश्मीकुमारी घिसिङ, सदीपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दिपा शाही, कुसुम खतिवडा, सबिता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की, मेनुकाकुमारी आले मगर।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।