काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले आदिवासी जनजातितर्फको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी पार्टी सभापति शेरबहादुर देउवानिकट हुन्। उनको उम्मेदवारी पनि देउवा अर्थात् संस्थापनपक्षबाट भएको हो।
पार्टीलाई जनतासँग जोड्न र युवा पुस्तालाई कांग्रेसमा अगाडि बढाउन उम्मेदवारी दिएको उनले बताए।
`कता-कता नेपाली कांग्रेस र जनताबीचको सम्बन्ध टाढा भयो कि भन्ने भान भएको छ। युवा पुस्तालाई पनि अघि बढाउनुछ पार्टीमा। यो दुवै काम गर्न म सहमहामन्त्री हुनु उपयुक्त हुने ठानेर उम्मेदवारी घोषणा गरेको हुँ,' उनले भने।
उनी पटक-पटक कांग्रेसको केन्द्रीय सदस्य भइसकेका छन्। पूर्वी पहाडी क्षेत्रका प्रभावशाली नेता आङदेम्बे २०७० सालको संविधानसभा निर्वाचनमा पाँचथरको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। त्यसपछि संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भए।
हाल उनी केन्द्रीय सदस्यको अतिरिक्त पार्टीको शक्तिशाली निकाय अनुशासन आयोगको संयोजक रहेका छन्।
पाँचथरको नवमीडाँडा घर भएका आङदेम्बेको परिवारिक पृष्ठभूमि पनि राजनीति नै रहेको छ। उनका बाजे देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषद्मा अर्थ तथा मालपोत उपमन्त्री भएका थिए। उनलाई लिम्बू जातिबाट भएको पहिलो मन्त्रीका रूपमा चिनिन्छ।
उनकै छोरा प्रेमराज भने दुईपटक मन्त्री भए। २०१५ मा भएको आम निर्वाचनपछि बीपी कोइराला प्रधानमन्त्री बन्दा खाद्य तथा कृषि उपमन्त्री भए। २०१६ असार १६ मा बीपी नेतृत्वकै पुनर्गठित मन्त्रिपरिषद्मा भने प्रेमराज ग्राम विकासमन्त्री भएका थिए। यसरी राणाशासनको अन्त्यपछि बाजे र बढा बा मन्त्री भएको पृष्ठभूमिकाभीष्मराज भने मन्त्री बन्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।