काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बागमती प्रदेश समितिको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन्।
संस्थापन इतर (पौडेल) पक्षका जगदिश्वर नरसिंह केसीलाई १५८ मतले पराजित गर्दै संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षका बानियाँ विजयी भएका हुन्।
आइतबार भएको दोस्रो चरणको मतदानमा खसेको कुल २ हजार मत गणना गर्दा बानियाँले १०८५ मत ल्याए। यता, उनका प्रतिस्पर्धी केसीले ९२७ मत मात्रै पाए। यद्यपि, औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।
शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो।
पहिलो चरणको मतदानबाट बाहिरिएका भीमसेनदास प्रधानले संस्थापन पक्षका बानियाँलाई समर्थन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।