काठमाडौं- राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीको जीवनकालमै पार्टीलाई बलियो बनाउने बताएका छन्। आइतबार अध्यक्षको शपथ ग्रहणपछि सम्बोधन गर्दै उनले सबै मिलेर राप्रपालाई बलियो बनाउने बताए।
'हाम्रै जीवनकालमा यो पार्टी बन्छ। खासगरी हाम्रा निवर्तमान अध्यक्षत्रय र श्रद्धय अरु नेताहरुलाई भन्छु, तपाईंहरुको जीवनकालमै राप्रपा यो देशको बलियो पार्टी बनाएर देखाउँछौँ,' उनले भने, 'त्यो विश्वासका साथ हामी काम गर्छौं। अब राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र कुनै गुट छैन। कुनै समूह छैन। कुनै नेताको मान्छे छैन। सबै राप्रपाको मान्छे छ।'
लिङ्देनले राप्रपालाई आगामी दिनमा सत्ता साझेदार पार्टीको रुपमा मात्रै होइन, देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्ने बताए। 'राप्रपाले लिएका मुद्दाहरु स्थापित गर्ने जिम्मेवारी हामीले पूरा गर्नेछौं,' उनले भने, 'हामीले सके संसद् र निर्वाचनबाट आफ्नो मान्यता स्थापित गर्ने, भएन भने सडकबाट भए पनि हाम्रो मान्यता स्थापित गर्ने बाटो लिएर जान्छौं। सडक र निर्वाचन, दुवै बाटो राप्रपाले अख्तियार गर्नेछ।'
उनले राप्रपाले गति पक्रिने र जीवन्त बनेर अगाडि जाने बताए। 'अर्को चुनावमा कामको आधारमा भोट माग्ने वातावरण बनाउँछौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।