काठमाडौं– नेपाल आर्मी ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा आर्मी ‘ए’ ले गोल्डेनगेट ‘ए’ लाई २१–१५ ले पराजित गर्यो। उपाधिसंगै आर्मी ‘ए’ ले ४० हजार नगद पुरस्कार पायो। उपविजेता गोल्डेनगेट ‘ए’ ले २० हजार नगद पुरस्कारमा चित्त बुझायो।
नेपाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा आर्मी ‘ए’ का विनोद महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। उनले १० हजार नगद पुरस्कार प्राप्त गरे।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसेन गुरुङ, महासचिव नरेन्द्र थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा २० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक ललितपुर जिल्ला बास्केटबल संघका महासचिव शरद विष्टले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।