काठमाडौं– बागमती प्रदेशमा सभापतिको प्रतिस्पर्धामा तेस्रो स्थानको मत ल्याएका भीमसेनदास प्रधानले दोस्रो चरणको मतदान नगरी सहमतिमा टुंगाउन आग्रह गरेका छन्।
स्थानीय निर्वाचन नजिकिँएको कारण देखाउँदै एकताको सन्देश दिने गरी सहमति गर्न उनले आग्रह गरेका छन्। प्रधानले आफूले कुनै पक्षलाई समर्थन नगर्ने संकेत गरेका छन्। प्रधानले आइतबार बिहान सार्वजनिक भएको मत परिणाममा १९७ मत ल्याएका थिए।
पहिलो स्थानको मत संस्थापन पक्षका उम्मेदवार इन्द्र बानियाँले ल्याएका थिए। बानियाँले ९९२ मत ल्याउँदा दोस्रो स्थानको मत ल्याएको पौडेल पक्षका उम्मेदवार जगदीश्वर नरसिंह केसीले ८७२ मत ल्याए।
दोस्रो चरणको मतदानको लागि बिहान ९ बजेदेखिको समय तोकिए पनि हालसम्म मतदान कार्य सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।