काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पहिलो पटक प्रतिश्पर्धा गरेका राजेन्द्र लिङदेनले कमल थापालाई पराजित गरेका छन्। राप्रपा अध्यक्षका लागि खसेको कूल ३ हजार ८७३ मत मध्ये लिङ्देनले १८१७ मत पाए भने थापाले १६१७ मत मात्र पाउन सके। ४३१ मत बदर भएको थियो।
अध्यक्ष निर्वाचित लिङदेनको जन्म २०२२ भदौ २२ मा पाँचथरमा बुवा मानप्रसाद र आमा स्व. धनकुमारीको कोखबाट भएको हो। उनको परिवार पाँचथरबाट झापा बसाइँ सरेको थियो। उनी झापाको हल्दिबारी गाउँपालिका–१ स्थायी बासिन्दा हुन्।
लिङ्देनले २०३६ सालदेखि राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेका थिए। उनी २०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष भए।
विद्यार्थी राजनीतिमा सक्रिय रहेकै बेला २०४७ सालमा राप्रपा झापाको सचिव बनेका थिए। २०४९ सालको स्थानीय निर्वाचनमा उनी झापाको गोलधाप गाविसमा वडाध्यक्ष निर्वाचित भए। २०५४ सालको अर्को स्थानीय निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भए। तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा जिल्ला विकास समिति झापाको सभापति (२०६१–२०६३) मनोनीत भएका थिए।
उनी २०६६ सालमा कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय सदस्य भएका थिए। २०७० सालमा राप्रपाको महामन्त्री भए। यसपटक राप्रपाको एकता महाधिवेशनमा उनी अध्यक्षको प्रत्यासी बनेर वर्तमान अध्यक्ष (तीन अध्यक्षमध्ये एक) कमल थापालाई पराजित गरे। उनलाई अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको समर्थन थियो। स्थानीय तहको पछिल्लो निर्वाचनमा राप्रपाबाट नेपालगन्जको मेयरमा विजयी धवलशमशेर राणाले पनि उनलाई समर्थन गरेका थिए। उनको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका राणा पनि विजयी भएका छन्।
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा झापा-३ बाट निर्वाचित उनी संसदको विकास तथा प्रविधि समिति सदस्य पनि छन्। राप्रपाबाट देशैभरबाट प्रत्यक्षतर्फ निर्वाचित हुने लिङ्देन एक्ला सांसद हुन्। उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए। उनलाई झापामा नेकपा एमालेले सहयोग गरेको थियो।
लिङदेन २०५६ सालको आम निर्वाचनमा पनि झापा-३ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा तेस्रो भएका उनी २०७० सालको निर्वाचनमा भने दोस्रो भएका थिए। त्यस निर्वाचनमा कांग्रेस नेता सिटौलासँग नै पराजित भएका थिए।
विकास तथा सामाजिक सेवामा रुचि राख्ने उनले राजनीतिशास्त्र र इतिहास विषयमा स्नातक उत्तीर्ण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।