काठमाडौं– दुई पटकको अग्रता जोगाउन नसक्दा शीर्ष स्थानमा रहेको चेल्सी प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा पराजित भएको छ।
लण्डन स्टेडियममा घरेलु टोली वेस्टह्याम युनाइटेडले दुई पटकको अग्रता उल्टाउँदै चेल्सीमाथि ३-२ गोल अन्तरको जित निकालेको हो।
घरेलु टोलीका लागि मानुएल लान्जिनी, जार्रोड बोवेन र आर्थुर मासुकाले एक एक गोल गरे। यता, चेल्सीका लागि थियागो सिल्भा र मासन माउन्टले गोल गरे।
खेलको २८औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता चेल्सीले जोगाउन सकेन।
४०औं मिनेटमा लान्जिनीले पेनाल्टीमा गोल गर्दै वेस्टह्यामलाई खेलमा फर्काए। त्यसको चार मिनेटमा नै चेल्सीले पुन: अग्रता लिएको थियो।
४४औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए। पहिलो हाफ २–१ गोल अन्तरले अग्रता बनायो चेल्सीले दोस्रो हाफमा डिफेन्स लाइन सुधार गर्न सकेन।
फलस्वरुप : ५६औं मिनेटमा बोवेनले गोल गर्दै वेस्टह्यामलाई २-२ गोलको बराबरीमा फर्काए।
त्यस्तै निर्धारित समय सक्किन ३ मिनेट बाँकी रहँदा मासुकाले गोल गर्दै वेस्टह्यामलाई ३-२ को पुनरागम जित दिलाए।
जितसँगै वेस्टह्यामको १५ खेलमा २७ अंक पुगेको छ। वेस्टह्याम चौथो स्थानमा रहेको छ। चेल्सी १५ खेलमा ३३ अंक जोडेर शीर्ष स्थानमा यथावत् छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।