काठमाडौं- फ्रान्कलिन कोटे टालाले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको हाफ भली गोलसँगै मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगितामा हारबाट जोगिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दिनको पहिलो खेलमा मनाङले संकटा क्लबसँग २-२ गोलको बराबरी खेलेको हो।
संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक एक गोल गरे। यता, कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङका लागि दयानन्द सिंह र फ्रान्कलिन कोटे टालाले एक एक गोल गरे।
तेस्रो चरणको खेलको पहिलो हाफमा १-० ले पछि परेको अवस्थाबाट मनाङले बराबरी गोल फर्काएको थियो। यस्तै, दोस्रो हाफमा पनि २-१ ले पछि परेको अवस्था मनाङले गोल फर्काउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो।
खेलको ३१औं मिनेटमा निरज बस्नेतको गोलबाट संकटाले खेलमा अग्रता बनाएको थियो। लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडरमार्फत् बललाई जालि चुमाएका थिए। तर,त्यो अग्रता लामो समय टिकेन। ३५औं मिनेटमा मनाङका लागि भारतीय खेलाडी दयानन्द सिंहले बराबरी गोल फर्काए। पुजन उपरकोटीको फ्रिकिकलाई अफिज ओलावालेले हेड गर्दै मिलाइदिएको बललाई उनले नजिकबाटै हेडरमार्फत् गोल गरे।
७०औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए। फोड फोफानाको क्रसमा अनमार्क रहेका उत्तमले करिब ६ यार्ड बक्सभित्रबाट हेडरमार्फत् सहज गोल गरे।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा फ्रान्कलिन कोटे टालाले पेनाल्टी बक्सबाहिरबाट भलीमार्फत् दर्शनीय गोल गर्दै मनाङलाई हारबाट जोगाए।
बराबरी गोलसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। मनाङले सुरुआती दुई खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पालाई समान १-० ले हराएको थियो।
यता, लिगको पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको संकटाले दोस्रो खेलमा फ्रेन्ड्समाथि २–१ को पुनरागमन जित निकालेको थियो।
बराबरीसँगै अपराजित रहेको मनाङले शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ। मनाङको ३ खेलबाट ७ अंक छ। संकटाको ३ खेलबाट ५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।