काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि कतिपय प्रदेशमा मतदान सुरु भएको छ भने कतिपयमा सुरु हुन सकेको छैन।
शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र सदस्यहरुको मनोनयन दर्ता भएका पदहरुमा आज निर्वाचन भइरहेको हो।
लुम्बिनी प्रदेशको अधिवेशनअन्तर्गत भैरहवामा मतदान जारी छ भने, गण्डकी प्रदेशअन्तर्गत पोखरामा मतदान चलिरहेको छ।
सुदूरपश्चिम प्रदेशमा विहान ९ बजेदेखि सुरु गर्ने भनिएको मतदान डेढ घण्टा वितिसक्दा पनि सुरु हुन सकेको छैन। सुदूरपश्चिमको अधिवेशन धनगढीमा भइरहेको छ।
त्यस्तै कर्णाली प्रदेशमा कार्यसमिति चयनका लागि मध्याह्न १२ बजेदेखि वीरेन्द्रनगरमामा मतदान सुरु हुने भएको छ।
त्यस्तै बागमती प्रदेश अधिवेशको मतदान हेटौडामा १२ बजेपछि सुरु हुने जनाइएको छ। प्रदेश १ को अधिवेशनमा मतदान सुरु भएको छैन। विराटनगरमा जारी अधिवेशनमा अपराह्नपछि मतदान सुरु हुने छ। उता, प्रदेश २ को अधिवेशन भने अनिश्चित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।