कैलाली– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतरपक्ष प्यानलसहिच चुनावी मैदानमा होमिएका छन्।
सभापतिमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर र इतरपक्षबाट कैलालीका पूर्व जिविस सभापति नारायणदत्त मिश्र भिड्दै छन्।
सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल चलिरहेको थियो। पदहरुको भागभण्डामा कुरा नमिलेपछि संस्थापन इतर पक्षले पहिले उम्मेदवारको सूची सार्वजनिक गरेको थियो। इतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्षले पनि बलायरको नेतृत्वमा प्यानल घोषणा गरेको हो।
संस्थापन पक्षबाट बलायरसँगै नरनारायण शाह, गोविन्द बोहरा, गोविन्दबहादुर शाह, अर्जुनजंगबहादुर सिंह, हिमबहादुर रावल र पुष्प शाहीले सभापतिमा दाबी गरेका थिए। अन्तिममा बलायर नै उम्मेदवार बने।
संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुरु धामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्टले उम्मेदवारी दर्ता गराएका छन्।
देउवा पक्षबाट प्रदेश उपसभापतिमा जनकराज भट्ट , लोकराज अवस्थी, रघुवर भट्ट र हिम रावल, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सहमहामन्त्रीमा गोपाल भट्ट, चिन्तामणी भट्ट र अम्बिका चलाउने उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।