काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षले बागमतीमा गठबन्धन बनाउने प्रयास गरेपनि असफल भएको छ। सभापतिमा तीन जनाको उम्मेदवारी परेसँगै देउवा–सिटौला गठबन्धन नबन्ने निश्चित भएको हो।
हेटौंडामा जारी अधिवेशनमा संस्थापन पक्षबाट इन्द्र बानियाँले उम्मेदवारी दिएका छन्। नेता कृष्णप्रसाद सिटौला पक्षबाट भिमसेनदास प्रधानले उम्मेदवारको मनोनयन दर्ता गराएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट जगदिश्वर नरसिंह केसीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन्।
प्रदेश १ मा सिटौला पक्षलाई संस्थापनले सघाएको छ। बागमतीमा सिटौला पक्षले संस्थापनका उम्मेदवारलाई सघाउन आग्रह गरिएको थियो। तर, सभापतिका उम्मेदवार प्रधानपछि हट्न तयार भएनन्। एकले अर्कोलाई छोड्न तयार नभएपछि बागमतीमा त्रिपक्षीय भिडन्त हुने भएको छ।
प्रदेश १ र वागमतीमा उम्मेदवार बनाएको सिटौला पक्षले अन्य प्रदेशमा प्रतिस्पर्धा गरेको छैन। उक्त समूहले बाँकी प्रदेशमा कुन पक्षलाई सहयोग गर्ने पनि खुलेको छैन। बागमतीमा त्रिपक्षीय र बाँकीमा द्धिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।
प्रदेश १ मा देउवा– सिटौलाबाट उद्धव थापा, संस्थापनइतरबाट गुरुराज घिमिरे सभापतिका उम्मेदवार बनेका छन्। प्रदेश २ मा संस्थापनका दुई समूह देउवा–निधिका आकांक्षी मिलाउने प्रयास भइरहेको छ। गण्डकीमा देउवा पक्षबाट अर्जुनप्रसाद जोशी र संस्थापनइतरबाट शुक्रराज शर्मा सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन्।
लुम्बिनीमा देउवा पक्षका भरत शाहले गैर संस्थापनका अमरसिंह पुनसँग प्रतिस्पर्धा गर्ने भएका छन्। कर्णालीमा संस्थापनका ललितजंग शाही र इतरका भूपेन्द्रजंग शाहीले उम्मेदवारी दिएका छन्।
कर्णालीमा देउवा निकट वीरबहादुर बलायरसँग संस्थापनइतरका नारायण मिश्र भिड्ने भएका छन्।
आज मनोनयन सकिएसँगै शनिबार मतदान हुनेछ। उम्मेदवारको मनोनयन दर्ताको कार्य ६ प्रदेशमा आज सकिने बताइएको छ। प्रदेश २ मा आज मनोनयन हुने/नहुने अन्योल कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।