काठमाडौं– नेपाली कांग्रेसको संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षबाट सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा वीरबहादुर बलायर उम्मेदवार हुने भएका छन्।
संस्थापन पक्षका नेताहरुले बलायरको नेतृत्वमा प्रदेश समितिका लागि 'प्यानल' बनाउने निर्णय गरेका हुन्। बलायर पार्टीको केन्द्रीय सदस्य हुन्।
संस्थापन पक्षबाट बलायर नेतृत्वको प्यानलमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी उपाध्यक्ष पदका उम्मेदवार हुनेछन्। महामन्त्रीमा कैलालीका मुन शाह, अछामका मेघराज खड्का उम्मेदवार हुने टुंगो लागेको छ।
सहमहामन्त्रीमा कञ्चनपुरका गोपालदत्त भट्ट र अछामकी अम्बिका चलाउने उम्मेदवार हुने भएको छ। सहमहामन्त्रीको अर्का १ जना उम्मेदवारको नाम भने टुंगो लाग्न बाँकी रहेको देउवा पक्षीय नेताहरुले जानकारी दिएका छन्।
प्रदेश समितिको जारी अधिवेशनअन्तर्गत शुक्रबार दिउँसो २ देखि ४ बजे सम्मका लागि उम्मेदवारी मनोनयनको समय तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।