काठमाडौं– नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय पदाधिकारी टुंगो लगाउन देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। 
जसमा गुरुङ सहित जनार्दन शर्मा, लिलामणि पोखरेल, पम्फा भुसाल र मातृकाप्रसाद यादव छन्। बिहीबार बसेको स्थायी समिति बैठकले पदाधिकारीको खाका तयार गर्न गुरुङको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। 
पाँच सदस्यीय समितिले पार्टी केन्द्रको पदाधिकारी कति सदस्यीय हुने भन्ने विषयमा खाका प्रस्तुत गर्ने स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले बताए। ‘पार्टी स्थायी समिति बैठकले पार्टी केन्द्रको पदाधिकारीमा कुन–कुन पद र कति सदस्य हुने विषय टुंगो लगाउन गुरुङजीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ,’ नेपाल लाइभसँग कुरा गर्दै बस्नेतले भने, ‘समितिले बुझाएको खाकाका आधारमा राष्ट्रिय सम्मेलनबाट पदाधिकारीको टुंगो लगाएर नेतृत्व चयन हुने छ।’ 
आगामी राष्ट्रिय सम्मेलनबाट पनि माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दाहोरिने सम्भावना छ। तर, महासचिव पदका लागि भने धेरै नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ। 
महासचिव नै पार्टीको भावी नेतृत्वमा पुग्न सक्ने भएकाले धेरै नेताहरु आकांक्षी छन्। जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, पम्फा भुसाल, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल लगायत नेताहरु महासचिवको आकांक्षी छन्। 
माओवादी केन्द्रको अन्तरिम विधानमा प्रदेश र पालिकामा अध्यक्ष सहित सात सदस्यीय पदाधिकारी बनाउने व्यवस्था छ। जसमा अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष हुने छन्। प्रदेश कमिटीमा सात सदस्यीय पदाधिकारीसहित बढीमा १ सय ७५ जना सदस्य हुने छन्। पालिकामा सात पदाधिकारीसहित महानगरमा ९९ सदस्य, उपमहानगरमा ८१ सदस्य, नगरपालिकामा ६५ सदस्य र गाउँपालिकामा ५५ सदस्य छन्। 
वडा कमिटीमा अध्यक्षसहित पाँच सदस्यीय कमिटी हुने व्यवस्था छ। जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष मात्रै छन्। वडामा बढीमा १९ सदस्यीय कमिटी हुनेछन्। टोल कमिटीमा अध्यक्ष र सचिव पदाधिकारी सहित १५ सदस्य छन्। सेल कमिटीमा सचिव मात्रै पदाधिकारी व्यवस्था छ। सचिवको नेतृत्वमा १० जनासम्म राखेर बनाउने व्यवस्था छ। 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।