काठमाडौं- गण्डकी प्रदेशमा नेपाली कांग्रेसको संस्थापनपक्षले उम्मेदवारको टुङ्गो लगाएको छ। संस्थापनइतरले भने सभापतिको उम्मेदवार पनि टुङ्ग्याउन सकेको छैन।
संस्थापनपक्षबाट सभापतिमा अर्जुनप्रसाद जोशी उम्मेदवार बनेका छन्। केन्द्रीय सदस्यसमेत रहेका जोशी उक्त समूहबाट निर्विरोध उम्मेदवार बनेका हुन्।
जोशीले आफ्नो प्यानलमा गण्डकी प्रदेशका दुई मन्त्रीलाई पनि समेटेका छन्। उपसभापतिको उम्मेदवार बनेका स्याङजाका मेखलाल श्रेष्ठ मन्त्री हुन्। अखण्ड पार्टीलाई कांग्रेसमा विलय गराएका कुमार खड्का महामन्त्रीको उम्मेदवार संस्थापनपक्षबाट बनेका छन्। खड्का पनि गण्डकीका मन्त्री हुन्। म्याग्दीका नेत्र महतलाई उपसभापतिमा उक्त पक्षले उठाएको छ।
महामन्त्रीमा गोरखाका ईश्वर पाण्डेले पनि उम्मेदवारी दिने भएका छन्। संस्थापनपक्षबाट सहमहामन्त्रीमा गोरखाका राजन पन्त, तनहुँका झुलबहादुर राना र नवलपुरका ओमकला गौतमले उम्मेदवारी दिने छन्।
संस्थापनइतरबाट सभापतिमा देवराज चालिसे र शुक्रराज शर्माबीच सहमति हुन सकेको छैन। दुवै जनाले दाबी नछाडेपछि संस्थापनइतरपक्षले प्यानल घोषणा गर्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।