काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरुको नाममा विवाद भएपछि उम्मेदवारी दर्ता अन्योलमा परेको छ।
विवादित पाँच जिल्लाको नामावली अध्यक्ष कमल थापापक्षले केरमेट गरेको आरोप राजेन्द्र लिङदेनपक्षले लगाएपछि विवाद भएको हो। यसअघि सहमतिमा अन्तिम रुप दिइएको नामावलीमा थापापक्षले टिपेक्स लगाएको आरोप लिङदेनपक्षले लगाएको छ। लिङ्देनले थापाविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
बिहान १० बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने भनिए पनि साढे ५ बजेसम्म प्रकाशन हुन सकेको छैन। सर्लाही, कपिलवस्तु, ललितपुर, रोल्पालगायतका जिल्लाका प्रतिनिधिको नामावली हेरफेर भएको आरोप लिङदेनपक्षको छ। थापापक्षले भने यसअघि नै विवादित जिल्लामा दुवैपक्षका बीचमा एक प्रकारको सहमति भएको र त्यही अनुरुपको अन्तिम सूची प्रकाशन गर्ने तयारी भइरहेको बताउँदै आएको छ।
‘हालसम्म नामावली टाँस गरिएको छैन। जिल्लाबाट आएको नामावली यहाँ आएर परिवर्तन भयो भन्ने छ,’ लिङदेननिकट नेता सगुनसुन्दर लावतीले भने, ‘दुईपक्ष बसेर सहमति गरेको र पाँच वटा जिल्ला टुङ्गिएको भन्ने थियो। हामी पनि अन्तिम सूचीको पर्खाइमा छौं।’
महाधिवेशन प्रतिनिधिको नामावली नआएसम्म उम्मेदवारी दर्ता नहुने भएकाले ढिलाइ भएको र यसको अन्तिम रुप दिने कार्य भइरहेको प्रचार विभागका संयोजक मोहन श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।