काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय अध्यक्षको उम्मेदवार बन्नका लागि एक लाख रुपैयाँ शुल्क तोकेको छ। बुधबारदेखि संघीय राजधानी काठमाडौंमा सुरु भएको एकता महाधिवेशन १७ गते (शुक्रबार) सकिँदै छ।
भृकुटी मण्डपमा जारी महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बन्नका लागि शुल्क तोकिको छ। उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।
महाधिवेशनमा करिब ४२ सय प्रतिनिधि सहभागी रहेको पार्टीले जानकारी दिएको छ। उनीहरूले एक अध्यक्ष, महिलासहित तीन उपाध्यक्ष, महिलासहित तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, एक कोषाध्यक्ष, सहायक कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता छान्ने छन्।
महाधिवेशनबाट १४९ जनाको केन्द्रीय समिति चयन हुनेछ। अध्यक्षले बाँकी ५० केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था विधानमा छ। केन्द्रीय समिति १९९ जनाको हुनेछ। अहिले चलिरहेको बन्दसत्रमा उम्मेदवारी दर्ता सुरु भएको प्रचारप्रचार समितिका संयोजक मोहन श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।