काठमाडौं– नेकपा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन प्रमुख विष्णुपुकार श्रेष्ठले अझै १ सय ८० पालिकामा अधिवेशन हुन बाँकी रहेको बताएका छन्।
गत मंसिर ११ गते माओवादी केन्द्रले पालिका अधिवेशन सुरू गरेको थियो। जसमा ७ सय ५३ भौगोलिक र २३ गैरभौगोलिक गरी ७ सय ७६ पालिका अधिवेशन एकैसाथ उद्घाटन भएको थियो।
यसरी उद्घाटन भएका पालिकामध्ये ५ सय ९६ पालिकाको अधिवेशन पूरा भइसकेको श्रेष्ठले बताए। बाँकी पालिका अधिवेशन मंसिर २० गतेभित्र पूरा गर्न निर्देशन दिएको उनले बताए।
‘हामीले गत मंसिर ११ गते एकैपटक ७७६ पालिका अधिवेशन उद्घाटन गर्यौं। त्यसमध्ये कतिपयमा अधिवेशन पूरा गरेर नयाँ नेतृत्व चयन समेत भइसकेको छ’ श्रेष्ठले भने, ‘कतिपय पालिकामा नेतृत्वसहित पदाधिकारीमा बस्ने नेताहरूबीच विवाद हुँदा अधिवेशन सम्पन्न हुन सकेको छैन। मंसिर २० गतेभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ।’
पालिका नेतृत्व सर्वसम्मत हुन नसकेमा निर्वाचन गर्न निर्देशन दिइसकेको श्रेष्ठले बताए। निर्वाचन गर्नका लागि पाँच सदस्यीय समिति बनाएको छ। जसमा एक जना निर्वाचन संयोजकसहित चार जना सदस्य रहनेगरी समिति बनाएको छ।
पालिका अधिवेशन सकिएलगत्तै मंसिर २५ गते प्रदेश सम्मेलन हुने भएको छ। त्यसैले पालिका अधिवेशन २० गतेभित्र सक्न निर्देशन दिएको छ। वडा, पालिका र प्रदेश सम्मेलन सकिएलगत्तै पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीको योजना छ। माओवादीले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।