काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले लामो समयसम्म सरकार सञ्चालन गरेका राजनीतिक दलहरु विकासको बाटो देखाउन असफल भएको आरोप लगाएका छन्। देशको विकासका लागि अब राप्रपा नै विकल्प बन्ने पनि उनको भनाइ छ।
राप्रपाको महधिवेशन उद्घाटन सत्रमा बोल्दै राणाले जनताले विकास चाहेको, तर सरकार चलाउनेहरुले नगरेका कारण नेपाल विकास हुन नसकेको दाबी गरे।
राणाले इमान र धर्म नभइ मुलुक नचल्ने पनि दाबी गरे। ‘यत्रा ठूला पार्टीहरु आएर मुलुक चलाउँदा विकासको बाटोमा डोराउन सकेका छैनन्,’ राणाले भने, ‘किन विकासको फड्को मार्न सकेनन् भने, इमान्दारिता र दक्षता प्रर्दशन भएन।’
उनले आगामी स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ठूलो विजय हात पार्न आवश्यक रहेको भन्दै उनले यसका लागि पार्टीमा आफू सक्रिय हुने दाबी गरे। अन्तिमसम्म पनि पार्टीमा एकताका साथ, निर्वाचनमा नगइ सहमतिमा नेतृत्व चयन हुनुपर्ने पक्षमा आफू रहेको राणाको भनाइ छ।
कथम्कदाचित निर्वाचनमै जानु पर्ने अवस्था आएमा सबैले त्यसको परिणाम स्वीकार गर्नुपर्ने राणाको भनाइ छ। निर्वाचन लड्ने, अनि परिणाम स्वीकार नगर्ने हुदाँ विगतमा पार्टी विभाजन भएको भन्दै उनले अब यो श्रृङ्खलालाई अन्त्य गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।