काठमाडौं- राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले अहिलको अवस्थामा पार्टीको हितका लागि आफ्नो दाबी छोड्नुपर्ने टुङ्गोमा पुगेको बताएका छन्।
मंगलबार पार्टीको महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष राणाले यो निष्कर्षमा पुग्ने कुरा पार्टी र कार्यकर्तालाई माया गर्ने भएकाले र फेरि पनि राप्रपा विभाजनतिर नजाओस् भन्नका लागि गरेको बताए।
‘दुई वर्ष अघि गरेको एकता खतरामा पर्छ भन्ने कुरा मैले गम्भीर भएर सोचेँ अनि १७–१८ वर्ष नेतृत्व गरेको मानिसले त्याग गर्नुपर्ने सोचेँ’ उनले भने, ‘यो पार्टीलाई दशक लगाएर निर्माण गरेको कहिले उच्च स्थानमा पनि पुग्यो अनि विभाजन पनि भयो।’
८० वर्ष पुग्ने उमेरमा पार्टी फुट्यो भने जित तितो हुन्छ भन्ने आफूलाई लागेर उनले बताए।
'पशुपति शमशेर यही पार्टीमै रहन्छ’ उनले भने ‘यसलाई प्रजातन्त्रको विकल्पको पार्टी बनाउन पार्टीको नेतृत्वमा रहे पनि नरहेपनि लाग्ने छु। ’ अहिले पनि सकेसम्म पार्टीले सर्वसम्पत रुपमा नेतृत्व चयन गर्नुपर्ने उनले बताए।
‘म कमल थापा र राजेन्द्र लिङ्देनलाई आग्रह गर्न चाहन्छु अहिले पनि सहमतिको स्थान छ, प्रयास गरौं’ राणाले भने।
लामो समयसम्म सरकार सञ्चालन गरेका राजनीतिक दलहरुले विकासको बाटो देखाउन असफल भएको उनको आरोप थियो।
राणाले जनताले विकासको चाहना गरेको तर सरकार चलाउनेहरुले नगरेका कारण नेपालमा विकास हुन नसकेको बताए। राणाले इमान र धर्म नभई मुलुक नचल्ने बताए। ‘यत्रा ठूला पार्टीहरु आएर मुलुक चलाउँदा विकासको बाटोमा डोर्याउन सकेका छैनन् ’ उनले भने ‘किन विकासको फड्को मार्न सकेन भने इमान्दारी र दक्षता प्रर्दशन भएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।