काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनबाट नेतृत्वको आकांक्षा राखेका राजेन्द्र लिङ्देनलाई वर्तमान अध्यक्ष कमल थापाले अझै ४ वर्ष कुर्न भनेका छन्। बुधबारदेखि सुरु महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै थापाले पार्टीलाई बलियो बनाएर नेतृत्व हस्तान्तरण गर्ने बताए।
'४ वर्ष धैर्य गर्नुस्। हामी सबै मिलेर एउटा बलियो पार्टी बनाएर युवा पुस्तालाई हस्तान्तरण गरेर अगाडि बढ्न तयार छौं', थापाले भने, 'त्यो एकताको निम्ति आग्रह गर्दै सहमति र सर्वसम्मतिको आधारमा नेतृत्व चयन गरेर यो देशमा राप्रपालाई एउटा जागरुक शक्तिको रुपमा, राष्ट्रियताको परहेदारको रुपमा, प्रजातन्त्रको पहरेदारको रुपमा यो पार्टीलाई स्थापित गरौं। त्यो सम्भव छ।'
उनले राप्रपामा विभिन्न कालखण्डमा विभिन्न परीक्षामा खरो उत्रिएको नेतृत्वपंक्ति भएको बताए। 'पशुपति शमशेर जबरा र प्रकाश चन्द्र लोहनीको मेरोभन्दा १० वर्ष लामो राजनीतिक इतिहास छ। मेरो पनि झन्डै ४५ वर्षको राजनीतिक इतिहास यात्रा छ', थापाले भने, 'राजनीतिक रुपमा हाम्रा केही निर्णयहरु विवादस्पद भए होलान्। हाम्रा क्रियाकलाप यदाकदा आलोचना भए होलान्। तर यो नेतृत्वपंक्तिलाई बेइमानी गरेको, भ्रष्टाचार गरेको कसैले आरोप लगाउन सक्दैन। यो इमान र जमान भएको राष्ट्रवादी पंक्ति हामीसँग छ।'
थापाले आफूहरुसँग सशक्त विचार भएको बताए। त्यो विचार समय काल र परिस्थितिले प्रमाणित गरेको उनको दाबी छ। 'त्यसर्थ कुनै पनि बाहनामा विभाजनको रेखा नकोरीकन सबै एकजुट भएर लागौं। राप्रपा अहिले सबैभन्दा कमजोर छ। यो कमजोरीभन्दा तल जाने ठाउँ नै छैन। योभन्दा तल कति जाने? अब त माथि जाने हो', उनले भने।
कार्यक्रममै सम्बोधन गरेका लिङ्देनले भने जबरा र लोहनीले नेतृत्व नगर्ने भनेर घोषणा गरेकाले थापाले पनि त्यस्तै निर्णय गर्न आग्रह गरेका थिए। 'म अर्का अध्यक्ष (कमल थापा) लाई पनि सादर निवेदन गर्न चाहन्छु, समयको पदचापलाई बुझ्नुस्। त्यसलाई बुझेर अगाडि बढ्ने बाटो खोलिदिनुस्। तपाईंहरु काम नलाग्ने र फेल हुनुभयो भनेर हामीले भनेका छैनौं। तपाईंहरुको भूमिका र योगदान अझै चाहिन्छ। तर, कार्यकारी भूमिका परिवर्तन गर्नुपर्यो', उनले भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।