फाइल तस्बिर काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै मञ्चमा रहेका नेकपा (माले)का अध्यक्ष सीपी मैनालीमाथि कटाक्ष गरेका छन्। राप्रपाको महाधिवेशन उद्घाटन सत्रमा राजतन्त्रका विषयमा मैनालीले दिएको अभिव्यक्तिलाई लक्ष्य गर्दै उनले 'राप्रपाको अध्यक्ष बन्ने तयारी' भन्दै कटाक्ष गरेका हुन्।
आफैंले सुरुमा गणतन्त्रका लागि मान्छेको टाउको काट्न सुरु गरेको स्मरण गराउँदै सीपीलाई प्रचण्डले भने, 'राजतन्त्र फाल्न सुरुमा मान्छेका टाउको काट्ने सीपीजीले महान राजा भनेर बोल्नुभयो। उहाँ राप्रपाको अध्यक्ष बन्ने तयारी गर्दै हुनुहुन्छ क्यारे! शुभकामना। त्यस्तै हो भने बधाई छ सीपीजी सजिलै बोल्नुभयो।'
आफूले त्यसरी लोलोपोतो गर्न नजान्ने बताउँदै राप्रपासँग मत नमिल्ने उल्लेख गरे। आफू गणतन्त्रवादी र धर्म निरपेक्षतावादी रहेको उनले स्पष्ट पारे।
उनीअघि बोलेका मैनालीले भनेका थिए, 'राजा महेन्द्रजस्तो राष्ट्रवादी भन्थे, यद्यपि उहाँ सामन्ती कुलको, तरिका पनि निरंकुश थियो, देश सुहाउँदो थिएन। हामीले विरोध गर्यौं। सीपीले पनि विरोध गर्यो। तर त्योपछि विदेशी हस्तक्षपको विरोध गर्ने एउटै व्यक्तित्व महेन्द्र नै हुन्।'
नेपालका आएका परिवर्तन विदेशी हस्तक्षपसहितको भएको सीपीले बताए। 'हामीले इतिहास पढ्दा र तथ्य केलाउँदा के देख्यौं भने परिवर्तनहरु लोकतान्त्रिक परिवर्तनमात्रै नभएर तिनीहरु अवाञ्छित बाह्य प्रभाव र अनुचित बाह्य हस्तक्षपसहितका लोकतान्त्रिक परिवर्तन हुन्,' उनले भने।
उनले आफूहरुले परिवर्तनलाई लोकतान्त्रिक परिवर्तन भनेर अवाञ्छित बाह्य हस्तक्षपहरुलाई अनदेखा गरिरहेकोमा असन्तुष्टि जनाए। २०६३ सालको परिवर्तनले पनि बाह्य हस्तक्षेप ल्याएको उनको भनाइ थियो।
यही विषयमा प्रचण्डले असन्तुष्टि जनाउँदै घोचपेचमा उत्रिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।