काठमाडौं– युईएफ च्याम्पियन्स लिग अन्तर्गतको समूह ‘ई’ को अन्तिम खेल जर्मन क्लब बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा अर्को साता आयोजना हुँदैछ। तर, बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीचको उक्त खेल बन्द रंगशालामा हुने भएको छ।
पछिल्लो समय जर्मनीमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जर्मन सरकारले खेलकुदलाई बन्द रंगशालामा गर्ने निर्णय गरेको हो।
बाभेरियाका गभर्नर मार्कस साडरले कोरोना भाइरस संक्रमणदर उच्च बनेपछि खाली स्टेडियममा खेलकुद गर्न माग आउन थालेपछि उक्त कदम चालएिको बताए।
‘देशमा कोरोना संक्रमण दर बढ्दै गएकाले समर्थकलाई अब रंगशालामा अनुमति नदिने भएका छौं। यसले निकट भविष्यका लागि दर्शकहरूलाई फेरि अनुमति दिनु कुनै अर्थ छैन,’ उनले भने।
बायर्नले गत अक्टोबरमा आफ्नो रंगशालामा पूर्ण दर्शक क्षमता दर्शक राख्ने अनुमति पाएको थियो। तर, बढ्दो संक्रमणदरले ७५ हजार दर्शक क्षमतामा रहेको रंगशालामा २५ प्रतिशत कटौती गरिएको थियो। समर्थकले रंगशाला प्रवेशको लागि कोरोना नेगेटिभको नतिजा र कोरोना खोप लगाएको प्रमाण देखाउनुपर्नेछ।
बायर्न र बार्सिलोनाबीचको खेल ८ डिसेम्बरमा हुँदैछ। यो खेल बार्सिलोनालाई समूह चरण पार गर्न निर्णायक खेल हो। बायर्न लगातार पाँचौ जित निकाल्दै समूह ‘ई’ बाट प्रि–क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।
यता, बायर्नसँग हार हार भोगे र अर्को खेलमा बेन्फिका विजयी भए बार्सिलोना समूह चरणबाटै बाहिरिनेछ। बायर्नलाई बराबरीमा रोकेको अवस्थामा अर्को खेलमा बेन्फिका विजयी भएपनि बार्सिलोना ‘हेड टु हेड’मा अघि बढ्नेछ। जितले पनि बार्सिलोना अघि बढ्नेछ।
जर्मनीका अर्को साता आरबी लाइप्जिग र म्यानचेस्टर सिटीबीचको खेल पनि दर्शकविना नै हुने भएको छ। शनिबार बोरुसिया मोन्चेनग्लाडबाचविरुद्ध कोल्नको बुन्डेसलिगा खेलको लागि ५० हजार दर्शकलाई अनुमति दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।