काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतरले प्रदेश अधिवेशनका उम्मेदवारी टुङ्ग्याउन नेताहरुलाई जिम्मेवारी दिएको छ।
प्रदेशगत रुपमा आफ्नो पक्षका नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरिएको छ। बुधबार बिहान महामन्त्री डा. शशांक कोइराला निवासमा बसेको बैठकले नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ। सात प्रदेशमा पदाधिकारीसहितका उम्मेदवार टुङ्ग्याउन २२ नेतालाई जिम्मेवारी बाँडफाँट गरिएको छ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री कोइराला, नेताहरु प्रकाशमान सिंह,अर्जुननरसिंह केसी, गगन थापालगायत सहभागी थिए। जिम्मेवारी पाएका नेताहरु सम्बन्धित प्रदेशमा पुग्ने भएका छन्।
संघीय व्यवस्थापछि कांग्रेसले पहिलोपटक प्रदेश संरचना बनाउँदै छ। प्रदेश अधिवेशन १८ र १९ गते हुनेछ। प्रदेश १ को अधिवेशन विराटनगरमा, प्रदेश २ को जनकपुरमा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुने भएको छ।
कुन-कुन नेताले प्रदेशगत जिम्मेवारी पाए?
प्रदेश १ - डा.शेखर कोइराला, महेश आचार्य, डा.मिनेन्द्र रिजाल, बलबहादुर केसी, सरिता प्रसाइँ, गुरुराज घिमिरे
प्रदेश २ - सीतादेवी यादव, रामकृष्ण यादव र किरण यादव
बागमती प्रदेश - प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा.रामशरण महत
गण्डकी प्रदेश - रामचन्द्र पौडेल, डा. शशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त, जीवन परियार
लुम्बिनी प्रदेश - दीपक गिरी, चन्द्र भण्डारी
कर्णाली प्रदेश - हृदयराम थानी
सुदूरपश्चिम प्रदेश - दिलेन्द्रप्रसाद बडु, बद्री पाण्डे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।