काठमाडौं- राप्रपाका एक मात्र सांसद् राजेन्द्र लिङ्देनले समयको पदचाप बुझ्न अध्यक्ष कमल थापालाई आग्रह गरेका छन्। बुधबार सुरु महाधिवेशनमा सम्बोधन गर्दै उनले अध्यक्षमा नलड्ने घोषणा गरेका पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई धन्यवाद दिए।
'म अर्का अध्यक्ष (कमल थापा) लाई पनि सादर निवेदन गर्न चाहन्छु, समयको पदचापलाई बुझ्नुस्। त्यसलाई बुझेर अगाडि बढ्ने बाटो खोलिदिनुस्। तपाईंहरु काम नलाग्ने र फेल हुनुभयो भनेर हामीले भनेका छैनौं। तपाईंहरुको भूमिका र योगदान अझै चाहिन्छ। तर कार्यकारी भूमिका परिवर्तन गर्नुपर्योप', उनले भने।
थापाले कुनै बेला प्रमुख तीन पार्टीहरु कांग्रेस, एमाले र माओवादीले समेत प्रशंसा गरेको पार्टी अहिले महाधिवेशनको बेलामा मात्रै चलमलाउने अवस्थामा पुगेको बताए। पार्टीको गतिविधि शून्य भएको र राष्ट्रिय राजनीतिबाट बेपत्ता भएको बताए।
अहिलेको कार्यशैलीबाट अगाडि बढ्ने हो भने राप्रपा के हुन्छ, सबैलाई थाहा भएको लिंदेनको भनाइ छ। 'म महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्न चाहन्छु। यो राप्रपाको महत्त्वपूर्ण घडी हो। जीवन रोज्ने कि मृत्यु। यही कार्यशैलिबाट हामीले राप्रपा समाप्त हुन्छ', उनले भने।
उनले राप्रपा अहिले कसरी तीन प्रतिशत कटाउने र अर्को पार्टीसँग मिलेर दुईचार सिट जित्नेमा केन्द्रित रहेको बताए। यस्तो शैलीले नेपाललाई हिन्दू राष्ट्र बनाउन र राजसंस्था ब्युँत्याउन नसकिने बताए। 'अब नयाँ ढंगले जाने बेला आएको म स्मरण गराउन चाहन्छु', उनले भने।
उनले अहिले आफूहरुको मुद्दा जिवित रहने कि नरहने समय आएको बताए। 'मुद्दा जिवित राख्न समान विचार राख्ने व्यक्ति र संगठनसँग सहकार्य गर्न जरुरी छ। उनीहरुलाई जबसम्म जुटाएर लैजान सक्दैनौं। तबसम्म राजसंस्था र हिन्दूराष्ट्र ल्याउने र राप्रपालाई अग्रणी पार्टी बनाउने कुरा सम्भव छैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।