फाइल तस्बिर काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गरेका छन्।
उपसभापति निधिले पार्टीको विधानअनुसार पाँच सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा हाल चार सदस्य रहेको भन्दै त्यसलाई तत्काल पूर्णता दिन पार्टी सभापति देउवासँग माग गरेका हुन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा बसेका कांग्रेस डडेलधुराका नेता, कार्यकर्तालाई भेटन पुगेका उनले सञ्चारकर्मीमाझ निर्वाचन समितिले गराउने विभिन्न तहको अधिवेशनलाई वैधानिकता दिन पनि पाँच सदस्यीय बनाउनुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्दै त्यसबारे सभापति देउवालाई छिट्टै भेटेर ध्यानाकर्षण गराउने जानकारी दिए।
पार्टीको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका उनले आफूसँग परामर्शसमेत नगरी निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएको भन्दै महादेव यादवप्रति पनि असन्तुष्टि जनाए।
उपसभापति निधिले महाधिवेशनलाई सफल बनाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।