फाइल तस्बिर काठमाडौं- नेपाली कांग्रेस डडेलधुराका नेता, कार्यकर्ताहरुले डडेलधुरामा गरिएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन्।
मंगलबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरिएको हो। नेपाली कांग्रेस डडेलधुरा निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, अवैधानिक वडा/पालिका अधिवेशन बदर गरी अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने माग गर्दै मङ्सिर १ गतेदेखि अनशन सुरु गरेका थिए।
उपसभापति निधिले अनशनकारीहरुको पिरमर्काहरु पार्टीको प्रदेश अधिवेशन र महाधिवेशनको बेलामा पनि आमजनताको बीचमा राखेर जाँदा राम्रो हुने निर्देशन दिएपछि अनशन तोडिएको कांग्रेस डडेलधुराका निवर्तमान सभापति मल्लले बताए।
उपसभापति निधिले डडेलधुरामा उजुरी छानविन नगरी वडा/पालिकाहरुको अधिवेशन गरिनु गम्भीर विषय रहेको भन्दै डडेलधुरा कांग्रेसका नेता कार्यकर्ताहरुको माग र आग्रहहरुप्रति आफ्नो ऐक्यबद्धता रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।