काठमाडौं- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ। मत प्याटर्न हेर्दा एमालेको अन्तरसंघर्षकालमा ओलीपक्षमै रहेका नेतालेभन्दा अर्को समूहमा रहेका तर हाल ओलीले प्रस्ताव गरेका नेताले लोकप्रिय मत पाएका छन्।
उपाध्यक्षमा तत्कालीन माधवकुमार नेपाल समूहमा रहेकी अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी मत पाइन्। शाक्यले १९७६ मत पाएकी हुन्। शाक्यपछि सोही समूहमा रहेका सुरेन्द्र पाण्डेले १९२५ मतसहित दोस्रो स्थानमा रहेर विजय हासिल गरे।
ओली समूहमै रहेका सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र माओवादी केन्द्रबाट आएका रामबहादुर थापाले १७६८ मत ल्याएका छन्।
ओलीको प्रस्ताव बाहिरबाट उम्मेदवारी दिएका घनश्याम भुसालले ७२५ भोटमात्रै ल्याएका छन्।
यसैगरी सचिवमा पनि ओलीले प्रस्ताव गरेकामध्ये '१० नेता' समूहका उम्मेदवारको मत उच्च छ। सचिवमा विजयी उम्मेदवारमा गोकर्ण विष्टले सर्वाधिक १९७६ भोट ल्याएका छन्। उनले नवौं महाधिवेशनमा पनि सचिवमा सबैभन्दा बढी मत हासिल गरेका थिए।
त्यसपछि योगेश भट्टराईले १९६४ मत पाएका छन्। पद्मा अर्याल र छविलाल विश्वकर्माले समान १८०० मत पाएका छन्। यसैगरी लेखराज भट्ट १७०४ र रघुवीर महासेठ १५१३ मत ल्याएर विजयी बनेका छन्।
प्रस्ताव बाहिरबाट चुनाव लडेका भीम आचार्यले १३०० र टंक कार्कीले ५०० भोट ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।