काठमाडौं–पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।
१३ औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा पनि उनले उम्मेदवारी दिएका थिए। खुला तर्फमा २५ जना चयन हुनुपर्नेमा उनले २७ औं स्थानको मत ल्याएका थिए। तरुण दलका पूर्व अध्यक्षसमेत रहेका राणाले उम्मेदवारी घोषणा गर्ने क्रममा उनले भने,‘१३ औं महाधिवेशनमा सांसद र राज्यमन्त्री पनि रहेकाले साथीहरुले दोहोरो जिम्मेवारी दिन चाहुनभएन होला।’
आफू फूल टाइम राजनीतिकर्मी रहेको उनले बताए। विशुद्ध राजनीतिककर्म गर्ने मनशायले नै अमेरिकामा राम्रो आर्जन हुने जागिर छोडेर नेपाल फर्किएको उनले बताए। तरुण दलको अध्यक्ष हुँदा संगठनलाई विवाद रहित बनाएको उनको दाबी छ। केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्दै उनले भने,‘मागेर होइन,जितेरै केन्द्रीय सदस्य हुन चाहन्छु।’
महाधिवेशन आउने समयमा कांग्रेस कार्यकर्ता भोटर लिष्ट हो कि क्रियाशील भन्ने द्विविधामा हुने गरेको उनको भनाइ छ। क्रियाशील सदस्यता विवाद सधैं देखिएको बताउँदै महाधिवेशनको २ वर्ष अघि नै क्रियाशील सदस्यता टुंग्याउने तर्फ आफ्नो पहल हुने उनले बताए।
कांग्रेसका सबै पार्टी संरचनामा पदाधिकारी संख्या धेरै भएको उल्लेख गर्दै उक्त संख्या कम गर्नुपर्ने उनले जोड दिए। निर्वाचित केन्द्रीय सदस्यको रुपमा अर्थतन्त्र र परराष्ट्र नीतिका सन्दर्भमा आफ्नो भूमिका थप बढाउन चाहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।