काठमाडौं- नेकपा एमालेको पदाधिकारीमा केपी शर्मा ओलीकै टिम निर्वाचित भएको छ। शनिबारको बन्दसत्रबाट प्राप्त अधिकार अनुसार आइतबार रातिको बन्दसत्रमा ओलीले प्रस्तुत गरेको सूची अनुसारकै पदाधिकारीहरु मंगलबार निर्वाचित भएका छन्।
ओलीले अध्यक्षमा केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरेका थिए।
त्यस्तै, महासचिवमा शंकर पोखरेल, उपहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई प्रस्तावित गरेका थिए।
तर, ओलीको सूचीलाई चुनौति दिँदै अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएका थिए। त्यस्तै सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका थिए। उनीहरु सबै पराजित भएका हुन्।
आधिकारिक र अन्तिम मत परिणाम भने सार्वजनिक हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।