सौराहा- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बनेका घनश्याम भुसाल पराजित भएका छन्। मंगलबार ६ पदका लागि भएको निर्वाचनमा भुसालले सबैभन्दा कम मत प्राप्त गरेका हुन्।
आइतबार राति बन्दसत्रमा केपी ओलीले प्रस्तुत गरेका ६ जना नै उपाध्यक्षमा विजयी भएका हुन्। भुसालसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा 'बादल', विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार थिए।
एमालेको निर्वाचन आयोग स्रोतबाट प्राप्त जानकारी अनुसार, अष्टलक्ष्मी शाक्यले १९७६ मत पाएकी हुन्। उपाध्यक्षमा विजयमध्ये उनको मत सबैभन्दा बढी हो।
त्यस्तै, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा 'बादल'ले १७६८ मत प्राप्त गरेका थिए। घनश्याम भुसालले भने ७२५ मत प्राप्त गरे। आधिकारिक जानकारी भने केही बेरमा आउनेछ।
२०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा उपमहासचिवमा दुई पदका लागि भएको निर्वाचनमा भुसालले सर्वाधिक मत ल्याएर विजयी भएका थिए। त्यतिबेला दोस्रो भएका विष्णु पौडेल उपाध्यक्ष र तेस्रा भएका शंकर पोखरेल महासचिव भएका छन्। चौथो भएका रघुजी पन्त भने केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।