काठमाडौं– आगामी अधिवेशनका लागि संस्थापनइतरबाट बागमती प्रदेशको कांग्रेस सभापतिको उम्मेदवार छान्न नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बस्ने भएको छ।
सभापतिको उम्मेदवार छान्न सिंह निवासमा सोमबार पनि बैठक बसेको थियो। हिजोको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बोलाइएको हो।आजकाे बैठकमा सभापतिका आकांक्षी नेताहरुसँग नेता सिंहले संवाद गर्ने बताइएको छ। हिजोको बैठकमा नेता अर्जुननरसिंह केसी पनि सहभागी थिए।
मंसिर १८ र १९ गते हुने प्रदेश अधिवेशनमा आफ्नो पक्षको उम्मेदवार चयन गर्नका लागि बैठक बस्न लागेको हो। बागमती प्रदेशको सभापतिका लागि संस्थापनइतरकै दुई पक्षका आकांक्षीहरु छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह पक्षका नेताहरुले उक्त पदका दाबी गरेका छन्।
वरिष्ठ नेता पौडेल पक्षबाट काभ्रे र नुवाकोटका निवर्तमान सभापति मधु आचार्य र जगदीश्वर नरसिंह केसी सभापतिका आकांक्षी हुन्। नेता डा शेखर कोइरालाले धादिङका निवर्तमान सभापति रमेश धमलालाई अघि सार्न खोजेका छन्। नेता प्रकाशमान सिंहले राजुराज जोशीलाई प्रदेश सभापतिको उम्मेदवार बनाउन चाहेका छन्। जोशी गत निर्वाचनमा काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट पराजित भएका थिए।
पार्टी सभापति शेरबहादुर पक्षबाट बागमती प्रदेश सभाका संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन्। नेता कृष्णप्रसाद सिटौला पक्षबाट भिमसेनदास प्रधानले उम्मेदवारका लागि दाबी गरिसकेका छन्। देउवा पक्ष र सिटौला पक्षको गठबन्धन बन्नसक्ने भएकाले बानियाँ वा प्रधान मध्ये एक जनाको उम्मेदवारी पर्ने सम्भावना बढी छ। संस्थापन पक्षबाट मोहन बस्नेतको नाम पनि बागमती सभापतिकाे उम्मेदवारको रुपमा चर्चा भइरहेको छ।
नेता सिंहलाई बागमती प्रदेशको अधिवेशन सम्पन्न गर्नका लागि जिम्मेवारी दिइएको छ। बागमती प्रदेश अधिवेशन मंसिर १८ र १९ मा हेटौंडामा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।