काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले आउँदो महाधिवेशनमा अध्यक्षका लागि राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै लोहनीले अब नयाँ पुस्ताले राप्रपालाई अघि बढाउनुपर्ने बताउँदै आफ्नो समर्थन लिङ्देनलाई रहेको बताए।
उनले एकता हुनु अघि अध्यक्षको रुपमा आफूलाई दिन अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणालाई आग्रह गरेको स्मरण गरे। तर, थापाले फेरि पनि आफैं अध्यक्ष हुने बताएपछि लोहनीले लिङ्देनलाई सर्मथन गरेका हुन्।
‘मैले राप्रपाको नेतृत्व सहमतिमा हुनपर्छ भनेर धेरै अघि भनेको थिएँ। यो सम्भव नभए नयाँ पुस्तालाई नेतृत्व दिनु देशको हितमा छ भन्ने स्पष्ट रूपमा भन्दै आएको छु’ लोहनीले भने ‘सोही धारणा अनुरूप नयाँ नेतृत्व आउनुपर्छ। राजेन्द्र लिङ्देनको पक्षमा म उभिएको छु।’
दुई अध्यक्षहरू कमल थापा र पशुपति शमशेर राणाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। ‘वैदिक सनातनको हिन्दु धर्म र संवैधानिक राजतन्त्रप्रतिका सबै प्रतिवद्धता कार्यान्वयन गर्न नयाँ नेतृत्व आवश्यक छ’, लोहनीले भने।
नयाँ नेतृत्वलाई काम गर्ने मौका दिनुपर्ने पक्षमा आफू उभिएको उनले बताए। मेचीदेखि महाकालीसम्मबाट आएका कार्यकर्तालाई आफूले त्यही आग्रह गर्ने लोहनीको भनाइ छ।
आजै, अर्का अध्यक्ष पशुपति शमशेर राणाले पनि पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दैछन्। राणा हालसम्म कुनै पक्षमा खुलेका छैनन्। उनले अध्यक्षमा भने आफूले उम्मेदवारी नदिने बताइसकेका छन्।
हिजो भएको उम्मेदवारी घोषणा सभामा कमल थापाले संस्थापक नेताहरू लोकेन्द्रबहादुर चन्द र पशुपति शमशेर राणाको सर्मथन आफूलाई भएको बताएका थिए। मंसिर १५ ,१६ र १७ गते काठमाडौ हुने राप्रपाको महाधिवेशनमा हालसम्म लिङ्देन र थापा अध्यक्षको प्रत्यासी देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।