काठमाडौं- नेकपा एमालेको जारी महाधिवेशनमा सचिवका उम्मेदवार योगेश भट्टराईले 'भोट नहाल्नू' भनेर वितरण गरिएको पर्चा आफूहरुले नदेखेको बताएका छन्। मंगलबार सौराहामा पत्रकारहरुसँग कुरा गर्दै उनले पर्चाबारे अनभिज्ञता व्यक्त गरेका हुन्।
'त्यस्तो त हामीले केही देखेका छैनौं,' उनको भनाइ थियो, 'त्यस्तो आएछ भने हेरौंला। हामीले नदेखेको कुरामा के गर्नु?'
मंगलबार बिहान सुरु भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी ओली पक्षधर नेता तथा कार्यकर्ताले अध्यक्षदेखि सदस्यसम्मको सूचीमा विभिन्न नामहरुमा मत नहाल्नू भन्दै नामावलीसहितको पर्चा वितरण गरेका थिए।
अध्यक्षका उम्मेदवार भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवारद्वय टंक कार्की र भीम आचार्य लगायतका विभिन्न समूहबाट सदस्यका उम्मेदवार भएकाहरुको सूची वितरण गरिएको थियो।
ओलीले वाचन गरेको पदाधिकारी-सदस्य सूचीमा सन्तुष्ट नभई निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका नामहरुलाई पराजित गर्न अभियान चलाइएको आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।