सौराहा(चितवन)- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मतदान जारी छ। मतदान मंगलबार बिहान ४ बजेपछि सुरु भएको थियो।
विहान १० बजेसम्मका लागि तोकिएको मतदानको समयमा आधा घण्टा थप गरिएको एमाले निर्वाचन आयोग सदस्य बाबुराम दाहालले नेपाल लाइभलाई जानकारी दिए। उनका अनुसार १० बजेसम्म २ हजार जनाले मतदान गरेका छन्।
२१७५ जना प्रतिनिधि रहेको एमाले महाधिवशेनमा कार्यव्यस्तताका कारण कतिपयले महाधिवेशन छाडेर फर्किसकेकाले केही कम मत खस्न सक्ने सम्भावना रहेको दाहालले बताए। 'कसैको निजी कामले जानु भएको हुनसक्छ नभए शतप्रतिशत मत खस्छ' उनले भने।
५० वटा क्लस्टरमा मतदान गर्नुपर्नेमा ४० वटामा निर्विरोध भइसकेको र अहिले १० वटा क्लस्टरमा मात्र भोटिङ भइरहेको उनले जानकारी दिए।
मत दिएर फर्किएका केहीलाई मतदान गर्न पाँच मिनेट मात्र समय लागेको भएपनि केहीलाई २५ मिनेटसम्म लागेको आफूले पाएको दाहालले बताए।
मतदान सकिएपछि केही प्राविधिक कुरा सकाएर मतगणना गर्न थालिने उनले बताए। मत गणना गर्न १ देखि २ घण्टा लाग्ने उनको भनाइ छ।
'भोटिङ मसिन हो। नेटवर्किङ गरेको भए एक क्लिकमा हुन्थ्यो। उम्मेदवारलाई एक कम्प्युटरबाट अर्कोमा जोडिएको छ भन्ने आशंका लाग्न सक्ने भएका कारण सबै कम्युटर अलग अलग छन्। कम्प्युटरमा जोडेर गर्नु पर्ने भएकाले १ देखि २ घण्टा लाग्न सक्छ' दाहालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।