काठमाडौं– यो वर्षको बालोन डी ओर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले हात पारेका छन्। सोमबार राति आयोजित एक विशेष समारोहबीच फ्रेन्च फुटबलले मेस्सीलाई उक्त अवार्ड प्रदान गरेको हो।
अर्जेन्टिनाका कप्तान मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै सातौं पटक बालोन डी ओर अवार्ड जितेका हुन्। उनले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए। राष्ट्रिय टिमबाट उनको यो पहिलो उपाधि थियो।
मेस्सीले रोबर्ट लेवान्डोस्की र जोगिन्होलाई पछि पार्दै अवार्ड जिते। यसअघि उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा सो अवार्ड जितेका थिए।
फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो।
महिलातर्फको बालोन डीओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् भने जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले स्ट्राइकर अफ दि इयर हात पारे।
क्लब अफ दि इयरको अवार्ड भने चेल्सीले जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।