सौराहा – नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गतको मतदान प्रक्रिया संशोधित कार्यतालिकाभन्दा अरु दुई घण्टा ढिलो गरी सुरु भएको छ। सहमति हुन नसकेका पदका लागि राति २ बजेदेखि सुरु हुने भनिएको मतदान बिहान सवा ४ बजे सुरु भएको हो। केपी ओलीले मतदान गरेपछि निर्वाचन सुरु भएको हो।
एमालेको केन्द्रीय निर्वाचन आयोगले सुरुमा राति ९ बजेबाट मतदान गर्ने समय निर्धारण गरेको थियो। तर, उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएपछि कार्यतालिका संसोधन गरेर राति २ बजेबाट मतदान गर्ने समय तोकेको थियो।
सोमबार राति दोस्रोपटक निर्वाचन कार्यतालिका संशोधन गरी २ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका बनाइएपछि त्यही बेलादेखि मतदान केन्द्रबाहिर प्रतिनिधिहरु आए पनि कसैलाई भित्र जान दिइएको थिएन।
मतदान प्रक्रिया सकिने समय यसअघि मंगलबार बिहान ८ बजेलाई तोकिए थियो। त्यसलाई पनि संसोधन गरिएको छ। अब मतदान प्रक्रिया बिहान ९ बजेसम्म चल्नेछ।
एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार १० वटा पदमा मात्रै निर्वाचन हुने भएको छ। केन्द्रीय सदस्यका लागि खुला, भौगोलिक र समावेशी समूह गरी ७ पदका लागि र पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा ३ गरी १० पदका लागि निर्वाचन हुन लागेका हो।
अब अध्यक्ष, उपाध्यक्ष, सचिव, प्रदेश १ खुला, प्रदेश १ महिला, सुदूरपश्चिम प्रदेश महिला, दलित खुला, थारु खुला, पिछडिएको क्षेत्र खुला, खुला समूहअन्तर्गत मात्रै निर्वाचन हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।