सौराहा- एमालेको १०औं महाधिवेशनबाट चयन हुने पदाधिकारीसहितको नयाँ नेतृत्व र केन्द्रीय कमिटीका लागि निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ।
सोमबार अबेर राति प्रकाशित नामावलीअनुसार धेरैजसो केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।
निर्विरोध हुनेमा खुला महिला सदस्य सबभन्दा धेरै ५३ जना छन्। त्यस्तै जनजाति सदस्य १७ र जनजाति महिला सदस्य ८ जना पनि निर्विरोध निर्वाचित भएका छन्।
प्रदेश २ बाट खुला ६ र महिला खुला सदस्यमा ३ जना निर्विरोध भएका छन्। कर्णालीमा खुला (पुरुष) ६ र ३ महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्।
सुदूरपश्चिममा ६ खुला (पुरुष) सदस्य निर्विरोध निर्वाचित भएका छन् भने ३ महिला सदस्यको पदमा निर्वाचन हुँदैछ। बागमतीमा खुला (पुरुष) ६ र ३ महिला सदस्य निर्विरोध भएका छन्। गण्डकीमा पनि खुला (पुरुष) ६ र ३ महिला सदस्य निर्विरोध निर्वाचित भए।
उपत्यका विशेष कमिटीबाट एक महिला र एक पुरुष गरी दुई जना निर्विरोध भएका छन् भने सम्पर्क समन्वय कमिटीबाट एक पुरुष र एक महिला गरेर २ सदस्य निर्विरोध निर्वाचित भएका छन्।
श्रमिकबाट पुरुष र महिला गरेर ६ जना निर्विरोध निर्वाचित भएका छन्। खुला मधेशी सदस्यमा १३ र महिला सदस्यमा ६ जना निर्विरोध निर्वाचित भएका छन्। दलित महिलातर्फका ४ सदस्य, थारु महिलातर्फका २ सदस्य, मुस्लिम खुला ४ र मुस्लिम महिला २ र पिछडिएको क्षेत्रतर्फ १ महिला सदस्य निर्विरोध भएका छन्।
केन्द्रीय लेखा आयोगमा पदाधिकारीसहित २५ र निर्वाचन आयोगमा पनि पदाधिकारीसहित २५ जना निर्विरोध भएका छन्। यसअघि वरिष्ठ उपाध्यक्ष १, महासचिव १ र उपमहासचिव ३ जना निर्विरोध निर्वाचित भइसकेका छन्।
निर्विरोध निर्वाचित नभएका अध्यक्ष, उपाध्यक्ष, सचिव, खुला केन्द्रीय सदस्यलगायतका पदमा नभने मंगलबार बिहान ४ बजदेखि ८ बजेसम्म मतदान गर्नेगरी एमालेको निर्वाचन आयोगले निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।